मधेसका १२ बालकलाई मुम्बईबाट उद्धार गरी ल्याइयो


पर्सा । माइती नेपालले भारतको मुम्बईबाट उद्धार गरी ल्याएका १२ जना बालक तथा किशोरहरूलाई उनीहरूका अभिभावकको जिम्मा लगाएको छ ।

रौतहटका ७, महोत्तरीका २, कैलाली, धनगढी र कपिलवस्तुका १/१ बालकहरूलाई बुधबार साँझ वीरगन्जमा उनीहरूका अभिभावकको जिम्मा लगाएर घर पठाइएको माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख संगिता पुरीले जानकारी दिइन् ।उनीहरुलाई मंगलबार साँझ मुम्बईबाट उद्धार गरी वीरगन्ज ल्याइएको थियो ।

१३ देखि १८ वर्ष उमेर समूहका ती बालकरकिशोरहरूलाई मजदुरीका लागि मुम्बई लगिएको थियो । सन् २०२१ को जुलाई ७ तारेखमा भारतको मुम्बई पुगेका उनीहरूलाई त्यहाँको कुरल रेल्वे स्टेसनबाट भारतीय प्रहरीले उद्धार गरेको थियो । त्यसपछि ती बालकहरूलाई भारतीय प्रहरीले मुम्बईस्थित बाल कल्याण कमिटीको जिम्मा लगाएको थियो ।

कमिटीले माइती नेपालसँग समन्वय गरी बालकहरूको स्वदेश फिर्तीको पहल गरेपछि मुम्बईस्थित माइती नेपालको ‘मिसिङ रेस्क्यू अपरेसन टिम’ले सक्रियता देखाएर बालकहरूको स्वदेश फिर्तीको प्रक्रिया थालेको थियो ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार २१:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ