मन्त्री यादवलाई बर्खास्त गर्न चौतर्फी दबाब, तर प्रधानमन्त्री मौन किन ?


काठमाडौं । नेकपा एमालेका नेताहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिमा प्रधानमन्त्री शेरवहादुर देउवा मौन रहेकोभन्दै आपत्ति जनाएका छन् ।

मन्त्री यादवले गत बुधबार गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका विषयमा दिएको अभिव्यक्तिप्रति नेताहरुले आपत्ति जनाएका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्रीले गौर घटना दोहोर्याउने अभिव्यक्ति दिँदा पनि प्रधानमन्त्री नबोलेर गठबन्धनकै बन्दी बनेको आरोपसमेत लगाएका छन् ।

‘गठबन्धनकी एउटी नेतृ/वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उदण्ड हुंकार गरिन,’ उनले ट्विटरमा लेखेका छन्, ‘विगत गौर नरसंहारमा पीडित हुँ भन्ने र अहिलेको गठवन्धनका प्रमुख सूत्रधार हुँ भन्ने केही बोल्छन् बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठवन्धनको बन्दी बनेकै हुन् ?’

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलका नेताहरुलाई हत्या गर्ने खुला अभिव्यक्ति दिएको गम्भिर विषयमा प्रधानमन्त्रीको मौनता बिडम्बनापूर्ण रहेको बताएका छन् ।

‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को गौर नरसंहार गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ । यति गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ । अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस्,’ उनले फेसबुकमा लेखेका छन् ।

कार्यक्रममा मन्त्री यादवले गौरमा अवरोध गर्न खोज्दा माओवादी र तात्कालीन मधेसी जनअधिकार फोरमबीच भएको राइस मिल घटनाको स्मरण गराउँदै त्यही ठाउँमा अवरोध नगर्न धम्की दिएकी थिइन् ।

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १४:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ