गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी


काठमाडौँ । गएको माघ ९ गते भरतपुरको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा परेर गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनीविरुद्ध बिहीबार नै पक्राउ पूर्जी जारी गरिएको भए पनि हालसम्म पक्राउ परेका छैनन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर काम अगाडि बढाएसँगै ठेकेदार कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पूर्जी जारी गरिएको बताए । खड्काले नारायणगढ गोन्द्राङ लेनको सडक विस्तार र भरतपुरमा सिटी हल बनाइरहेका छन् । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

वन तथा वातावरण मन्त्रालयले समेत वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ । समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित : २०७८ माघ १४, शुक्रबार १६:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ