प्रदेश १ : ७ मन्त्रालय फुटाएर १२ वटा बनाउने निर्णय


काठमाडौं । प्रदेश १ सरकारले हाल कायम रहेका मन्त्रालयहरू फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ ।

मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय सङ्ख्या बढ्ने भएको हो । मन्त्रिपरिषद् कार्य विभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन ।

मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय मात्रै सार्वजनिक गरेका थिए । मन्त्रिपरिषद् स्रोतकाअनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालय सङ्ख्या थप गर्ने निर्णय गरेको छ ।

यो नियमावली संशोधनसँगै प्रदेशमा ५ वटा मन्त्रालय थप हुने भएका छन् । हाल मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय रहेको प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालय हुनेछन् ।

थपिएका मन्त्रालय रहने स्थानको पनि टुङ्गो लागिसकेको स्रोतले जानकारी दिएको छ । सरकारले मन्त्रालय फुटाएर सङ्ख्या बढाउने तयारी गरेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रकाशित : २०७८ माघ १७, सोमबार १०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ