दुर्घटना अपडेटः श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यू


दाङ । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए ।

त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन् ।

अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन् ।

अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ । बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले मानवीय क्षति बढी भएको बताए । उनले ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको जानकारी दिए ।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो । जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ । – सेतोपाटी

प्रकाशित : २०७८ माघ २२, शनिबार १०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ