साउदी अरबबाट पतिको शव ल्याइदिन सरकारसंग आग्रह


धनकुटा । साउदी अरबमा चार महिनाअघि मृत्यु भएका रामकुमार लिम्बूको शव ल्याइदिन उनकी श्रीमती विष्णुमाया लिम्बूले आग्रह गरेकी छन् ।

२०६० सालमा साउदी अरब उडेका छथर जोरपाटी गाउँपालिका ५ परेवादिनका रामकुमार छुट्टीको बेला घर आउजाउ गरिरहन्थे । गत साल नै घर आउने कुरा भए पनि कोरोना महामारीले गर्दा आउन पाएका थिएनन् । गत असोज २६ मा साउदी अरबबाट श्रीमान्को निधनको खबर आयो विष्णुमायालाई ।

रामकुमार विगत १८ वर्षदेखि साउदी अरबस्थित दहिम अल हामोद एन्ड पार्टनरस् ट्रेडिङ एन्ड कन्ट्र्रयाक्टिङ कम्पनीमा लेभर काम गर्दै आइरहेका थिए । गाडीलाई साइड दिने क्रममा पुलबाट झर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको साउदीमा रहेका उनका साथी युवराजले फोनमार्फत जानकारी गराएको लिम्बूले बताइन् ।

‘भिडियो कलमा निको भएर चाँडै घर फर्किन्छु भन्नुभएको थियो,’ उनले भनिन्, ‘त्यसको एक हप्तापछि एक्कासि मृत्युको खबर सुन्नुपर्‍यो ।’ यतिबेला भने उनी श्रीमान्को शव नेपाल ल्याउन पहल गरिदिन सरकारसमक्ष अनुरोध गरेकी छन् ।

मृतक रामकुमारका पत्नी र १४ वर्षका एक छोरा छन् । मोरङको सुन्दरहरैचा ६, गछियामा बस्दै आइरहेका आमाछोरा जीविकोपार्जनका लागि गछिया खोलामा बालुवा चाल्ने गर्छन् । मृतकका साढु दाइ कमलकुमार राईले गत कात्तिकमा शव नेपाल ल्याइदिन वैदेशिक रोजगार बोर्डको सचिवालयलाई निवेदन दिएका थिए ।

उनका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले गत कात्तिक ८ गते नेपाली राजदूतावास रियाद, साउदी अरबलाई पत्र काटेर मृतक लिम्बूको शव नेपाल पठाउन आवश्यक सहयोगका लागि अनुरोध गरेको बताए ।

प्रकाशित : २०७८ माघ २४, सोमबार १५:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ