SEE परीक्षाको जिम्मा प्रदेश सरकारलाई दिने तयारी


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा गराउने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका छन् ।

बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन)ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शर्माले एसईईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका हुन् ।

उनले ऐनमा व्यवस्था नभई सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अफ्ठ्यारो भएको उल्लेख गर्दै संघीय सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेश सरकारले नै एसईईको परीक्षा लिनसक्ने बताए ।

अध्यक्ष शर्माले अबको परीक्षाको उत्तरपुस्तिकाहरू प्रदेश सरकारले जिल्ला र केन्द्रका कुरालाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेसन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्ने पनि बताए ।

प्रदेश सरकारले उक्त अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयानुसार नतिजा प्रकाशन गर्नसक्ने उनको भनाइ थियो ।

शध्यक्ष शर्माका अनुसार प्रदेश पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार काम गर्न तयार रहेको छ । यस्तै अध्यक्ष शर्माले यस पटकको एसईई परीक्षामा २ हजार वटा केन्द्र रहने र ११ हजारभन्दा बढी विद्यालयले भाग लिने बताएका छन् ।

प्रकाशित : २०७८ माघ २७, बिहीबार १७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ