सिरहाका हजारौं गरिबले पाए जग्गाधनी प्रमाणपुर्जा


लहान । सिराहामा एक हजारजनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । विशेष नापी कार्यालयले सिराहाको मिर्चैया नगरपालिका १ र २ का स्थानीयलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरेको हो ।

मिर्चैया नगरपालिका– २ मल्हनिया खोरीमा आयोजित कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरेकी हुन् ।

मिर्चैया नगरपालिका– १ रामपुरबिर्ताका चार सय ५० र वडा नम्बर २ का मल्हनिया खोरीका पाँच सय ५४ जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको विशेष नापी कार्यालयका प्रमुख दिलीपकुमार सिंहले जानकारी दिए ।

मन्त्री श्रेष्ठले जग्गा प्रमाणपुर्जा वितरण समारोहमा जमिनको हकभोग भए पनि कानुनी अधिकार प्राप्त नहुँदा बेच्न सक्ने अवस्था नभएको बताइन् ।

प्रमाणपुर्जा नहुँदा थुप्रै समस्या झेल्नुपरेको भन्दै उनले उद्योग स्थापना, केटाकेटी पढाउन र औषधि उपचार गर्न धितो राख्न र बेच्न नपाउने कानुनी जटिलता अब समाप्त भएको बताइन् । ‘जग्गाको भोगचलन गरे पनि मालिक बन्ने अवस्था थिएन,’ उनले भनिन्, ‘अब कानुनी रूपमा अधिकार प्राप्त भएको छ ।’

मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले विशेष प्राथमिकतामा राख्दै नापनक्सा हुन बाँकी रहेका र नापनक्सा भइसकेका गाउँब्लक जग्गाको प्रमाणपुर्जा वितरण कार्यलाई अभियानको रूपमा तीव्रता दिएको बताइन् ।

भूमिहीन सुकुमबासीको नाउँमा थेरै थरीका आयोग र समिति बने पनि वास्तविक समस्या समाधान गर्न नसकेको भन्दै मन्त्री श्रेष्ठले भूमिहीन सुकुमबासीहरूको संविधानप्रदत्त हकअधिकार उपभोग गर्न अब धेरै समय नलाग्ने बताइन् ।

प्रकाशित : २०७८ माघ २७, बिहीबार १८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ