दुई पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित जसपा र माओवादी नेता एमालेमा प्रवेश


काठमाडौं । स्थानीय तहमा निर्वाचित भएको ५ वर्ष पुरा हुँदै गर्दा स्थानीय तहका जनप्रतिनिधिहरू एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढिरहेको छ ।

सोमबार रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू यसअघिको पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जिल्लाको रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादवसँगै ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’ र उपप्रमुख सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीमा सोमबार स्वागत गरेका छन् ।

यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

यादव नेपाली कांग्रेसका नेता एवं रूपन्देहीको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रमोद यादवका सहोदर भाइ हुन् । यादवले गाउँपालिका अध्यक्षको आफ्नो ५ वर्षे कार्यअवधिमा तुलनात्मक रुपमा आलोचना खेप्नु नपरे पनि केवट भने सुरुदेखि नै आलोचित बन्दै आएका थिए ।

गतसाता मात्रै अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर भएका रजत प्रताप शाह नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

गत साता नै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बल्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

स्थानीय तह निर्वाचनमा तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका शुक्ला प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अघि नेकपा एमालेमा प्रवेश गरेका थिए ।

पत्नी पल्लवी शुक्लालाई लिएर एमाले प्रवेश गरेसँगै एमालेले पल्लवीलाई रुपन्देही क्षेत्र नम्बर ४ ’ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । यद्दपी उनी पराजित भएकी थिइन् । – सेतोपाटी

प्रकाशित : २०७८ फाल्गुन २, सोमबार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ