अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं : चीन


बेइजिङ । चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप लगाएको छ ।

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ ।’

पत्रकार सम्मेलनमा एकजना पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिख भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो ।

हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसी कार्यक्रमबारे मतैक्यता हुन नसकेका कारण आन्दोलन पनि चर्किरहेको छ । नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चीनले भनेको छ ।

परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए ।

नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने परराष्ट्र प्रवक्ता वाङले प्रतिक्रिया दिए । – कान्तिपुर

प्रकाशित : २०७८ फाल्गुन ६, शुक्रबार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ