फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आजैबाट लागु


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले मध्यराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको हो ।

डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको निगमका सह-प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । यससँगै पेट्रोलियमको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

निगमका अनुसार पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य १४५ रुपैयाँ र डिजेल/ मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ ।

पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेलको मूल्यवृद्धि गरेको जनाएको छ ।

इन्डियन आयल कर्पोरेशनले ४ गते पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँदा प्रति लिटर पेट्रोल रु. ५.६१ ले बढेको, डिजेल रु. ५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको निगमको भनाइ छ ।

समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब २ अर्ब ४० रुपैयाँ करोडबाट करिब २५ करोड रुपैयाँले घटी अझै करीब २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहने देखिएको जनाएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरी सकेकोले पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाई हुने निगमको भनाई छ ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार ०५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ