संविधान मिचेर जबरजस्ती एमसीसी टेबल गरियो : झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसद्‌मा जबरजस्ती एमसीसी टेबल गरेर संविधान मिच्ने काम भएको बताएका छन् ।

संसद् बैठक सकेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘संघीय ऐन बनाएर मात्रै सन्धी सम्झौता अनुमोदन गराऔं भनेको छ संविधानले। संघीय ऐन नै नबनाइ संविधान मिचेर जबरजस्ती टेबल गर्ने काम भयो। यो संविधान विरोधी काम भयो,’उनले भने ।

उनले थपे, ‘संसद् चलिरहेको छैन । प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गरिरहेका बेला दीर्घकालीन महत्त्व र राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषयलाई यसरी प्रस्तुत गरिनु लज्जास्पद विषय हो ।’

उनले आफ्नो पार्टीको हिजो बसेको स्थायी कमिटीको बैठकले यथास्थितिमा कुनै पनि हालतमा पारित गर्नु हुँदैन भन्ने निर्णय गरेको उनले जानकारी दिए । उनले टेबल गर्न दिने भनेर पार्टीको बैठकले निर्णय नै नगरेको समेत जानकारी दिए ।

‘जसले बोले पनि त्यो व्यक्तिको कुरा हो। स्थायी कमिटीको बैठकले त्यस्तो निर्णय गरेका छैन। अब पार्टीको बैठक बसेर फेरि निर्णय गर्छौं,’ उनले भने ।

अमेरिकाको दबाबले नेपाल नै विभाजित भइरहेको उनको भनाइ छ । ‘संसद् पनि विभाजित भएको छ । एउटा नाथे आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ? यो लज्जास्पद विषय हो,’ खनालले थपे ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार १५:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ