जसपा फुटतर्फ अग्रसरः उपेन्द्र यादवले बोलाए कार्यकारिणीको बैठक


काठमाडौं । आन्तरिक विवाद पेचिलो बन्दै गएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

यादवका प्रेस संयोजक महेश चौरसियाका अनुसार फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको छ ।

३५ सदस्यीय कार्यकारिणी समितिको बैठकमा समयसामयिक राजनीति, संसदमा टेबल भएको एमसिसी, पार्टीभित्रको विवाद र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल हुने बताइएको छ ।

माघमा भएको राष्ट्रिय सभा चुनावपछि जसपामा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद बढेको छ । यादवले निर्णयहरू एकलौटी गरेको भट्टराई पक्षको आरोप छ।

पछिल्लो समय भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसीको खुलेर समर्थन गरिरहेका छन् भने यादव यसबारे मौन देखिएका छन् ।

आउँदो स्थानीय तहको निर्वाचन लागि उम्मेदवार बनाउन समेत यादवले एकलौटी गर्न खोजेको आरोप भट्टराई पक्षको छ ।भट्टराई पक्षले यसअघि नै पार्टीको कार्यकारिणी बैठक बोलाउन माग गरेको थियो ।

यादवले भने यसलाई आलटाल गर्दै आएका थिए । ३५ सदस्यीय कार्यकारीणीमा भट्टराईले बहमुत जुटाइसकेको बताइएको छ ।

प्रकाशित : २०७८ फाल्गुन ९, सोमबार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ