Breaking- झण्डै १ किलो सुनसहित उल्ला र साह पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३६ ग्राम अवैध सुनसहित दुईजना विदेशी नागरिक पक्राउ परेका छन् ।

सोमबार विमानस्थलको आगमन टनेल गेटबाट करिब ७७ लाख बराबरको सुनसहित उनीहरूलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा बंगलादेशका मोहम्मद तोफिकी उल्ला र भारतका पारशनाथ साह रहेका छन् । उनीहरू हिमालय एयरलाइन्सको विमानमा दुबईबाट काठमाडौं आएको प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बंगलादेशी नागरिकले लगाएको पाइन्टको कम्मरको भागमा फल्स बटम बनाएर पेटी आकारको अर्धठोस सुन अवैध रूपमा लुकाएको अवस्थामा फेला परेको हो ।

बंगलादेशी नागरिकले भारतीय नागरिकले भन्सार छली गर्न लगाएको खुलाएपछि भारतीय नागरिकसमेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १०, मंगलवार ०२:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ