मधेस : चोरीको मोटरसाइकल र गाँजासहित चार युवक पक्राउ


जनकपुरधाम । छुट्टाछुट्टै घटनामा संलग्न चारजना युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चारै जना १८ देखि २० वर्ष उमेरका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुईजना युवक लागूऔषध गाँजासहित पक्राउ परेका हुन्। थप दुईजनालाई मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरिएको छ ।

प्रहरीले लागुऔषध गाँजासहित ब्रहम्पुरी गाउँपालिका–४ का २० वर्षीय तमने साह र १८ वर्षीय मोहम्मद शेराजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

शनिबार राति सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी नहरस्थित नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा चामलको बोराभित्र लुकाईछिपाई राखेको ९ किलो ४०० ग्राम लागुऔषध गाजा बरामद भएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति सर्लाहीको बाग्मती नगरपालिका ९ स्थित ज ६ प २६०४ नम्बरको मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा सोही वडाको शंकरपुरस्थित जङ्गलमा लुकाई राखिएको अवस्थामा मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय विनोद महत्तो र १८ वर्षीय अनिलकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । – देशसंचार

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १५:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ