सिरहा काँग्रेस अधिवेशन अन्यौलमा, सिरहा कि गोलबजारमा गर्नेमा विवाद !


सिरहा । नेपाली कांग्रेस जिल्ला कार्य समिति सिरहाको निर्वाचन अन्यौलमा परेको छ ।

केन्द्रीय कार्य समितिले फाल्गुन २० गते अधिवेशनको मिति तोकेको भएपनि अधिवेशन स्थलको विषयमा विवाद उत्पन्न भएपछि अन्यौल देखिएको हो ।

सदरमुकाम सिरहा कि गोलबजार ? विषयमा विवाद सुरु भएको हो । यहाँ वडा, पालिका, प्रदेश र क्षेत्रीय समितिको अधिवेशनसम्म सदरमुकाम सिरहाको जिल्ला समन्वय समितिको गेष्ट हाउसमा निर्वाचन कार्यालय थियो ।

त्यहीबाट निर्वाचन अधिकृत संजीव लामाले अधिवेशन प्रक्रिया पूरा गराएका थिए। महाधिवेशनसम्ममा जिल्ला अधिवेशन सम्पन्न हुन नसकेपछि पटक पटक म्याद सारिएको थियो ।

पछिल्लो समय जिल्ला अधिवेशन गराउन आएका अधिकृत लामाले निर्वाचन गराउन तोकिएको कार्यालयमा पुगेकै छैन् । कुनै प्रक्रिया सुरु गरेको छैन् । सभापति रामचन्द्र यादवकै इसारामा होटल होटलमै बसेर छलफल चलाउने गरेको आरोप छ ।

मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता प्रक्रिया केही पनि सूचना निकालेका छैन् । जिल्ला सभापति रामचन्द्र यादवका अनुसार जिल्ला कार्य समितिको निर्णय गरी गोलबजार निर्वाचन स्थल तय भएको छ ।

केही साथीले विमती जनाएपछि निर्वाचन प्रक्रियामा बाधा पुगेको छ । ‘हामीले निर्वाचन अधिकृतलाई निर्वाचन गराउने जिम्मा सुम्एिका छौ,’उनले भने,’अब के हुन्छ हेरौँ ।’

कार्य समितिको बैठकमा आफ्नो पक्षका नेताहरुलाई मात्रै बोलाएर निर्णय गरेको जिल्ला सचिव पंचलाल महतोले बताए । ‘के निर्णय गरेको हो/होइन हामीलाई कुनै जानकारी छैन्,’उनले भने,‘म लगायत १२ जना जिल्ला सदस्य बैठकमै नबोलाई निर्णय गरेको सुनिएको छ ।’

सभापति रामचन्द्र यादव बलमिचाइँ गरिरहेको उनले बताए । सिरहाको विवादको विषयमा केन्द्रीय निर्वाचन समितिमा लेखेर पठाएको निर्वाचन अधिकृत लामाले बताए । केन्द्रबाट निर्देशन आएअनुसार गरिने उनले सुनाए ।

सिरहामा सभापतिका लागि रामसुन्दर चौधरी र रामचन्द्र यादवले प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेको छ । उनीहरुले कांग्रेस क्षेत्रीय प्रतिनिधिहरु मत मागिरहेका छन् । तर, निर्वाचन हुने नहुने टुङ्गो भने छैन ।

प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ