Big News: जनकपुर- पोखरा उडान सुरु


जनकपुरधाम । जनकपुरधामबाट पर्यटकीय नगरी पोखराका लागि हवाई उडान सुरु भएको छ । जनकपुरधाम- पोखरा हवाई उडान बिहीबार सुरु भएको हो ।

जनकपुरधामस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरका अनुसार जनकपुरधाम–पोखरा उडान सातामा तीन दिन हुनेछ। पछि यात्रुको चाप र मागअनुसार उडान नियमित गरिनेछ । अहिले साताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि बुद्ध एयरले उडान भर्ने उनले बताए ।

दुई सहरबीच हवाई उडान सुरु भएपछि जनकपुरधाम आउने पर्यटक अब सहज र सुरक्षित रूपमा हवाई यात्रामार्फत प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरी पोखरा पुग्नेछन् । र, पोखराबाट पनि हवाईमार्ग भएर पर्यटक धार्मिक र सांस्कृतिक नगरी जनकपुरधाम आउनेछन् ।

हवाई उडान सुरु भएपछि दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । गत असोजमा गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणामा पोखरा भ्रमण गएका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दुई पर्यटकीय सहरलाई हवाई उडानले जोड्नुपर्ने प्रस्ताव गरेका थिए ।

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन् ।

उनीहरूमा पोखरालगायत मुक्तिनाथको दर्शन गर्न पनि उत्तिकै रुचि राख्छन् । जनकपुर–पोखरा हवाई उडान सुरु भएपछि केही समयमै उनीहरू पोखरा पुग्न सक्नेछन् ।

हवाई उडानले मधेस–पहाडबीच सम्बन्ध स्थापित गर्दै पर्यटन विकासमा सहयोग पुर्‍याउनेछ । पर्यटन प्रवर्द्धनमा यो उडान ठूलो फड्को नै हुने स्थानीयको विश्वास छ । – नागरिक दैनिक

प्रकाशित : २०७८ फाल्गुन २०, शुक्रबार ०९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ