स्थानीय तहको चुनाव सार्ने कुरा भइरहेको छ : माधव नेपाल


काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनाव सार्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

अध्यक्ष नेपालले एमालेले संसद चल्न नदिएकाले विघटन गरेर प्याकेजमा तीन तहको चुनावमा जानुपर्ने प्रस्ताव अघि सारेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डा रोक्नका लागि संसदको अर्ली इलेक्सन आवश्यक भएको जिकिर गरे ।

संसदबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले भने, ‘हाउस चल्न पनि नदिने । केही गतिविधि गर्न पनि नदिने । हाउसलाई पंगु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्यो भन्दा पहिले पुरै संसदले नै अब केपी ओलीको बितण्डाको सामना गर्नलाई यसलाई भंग गरिदिने । न संसद रहन्छ । न हंगामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने ।’

त्यसो हो भने स्थानीय तहको चुनाव सर्छ भन्ने प्रश्नमा नेपालले भने, ‘प्याकेजमै जानुपर्छ। प्याकेजमै जानुपर्छ, त्यस विषयमा (वैशाख ३०को चुनाव सार्ने) पनि जाने कुरा भइरहेको छ ।’

नेपालसहित १४ सांसदको कारबाहीलाई पूर्णता दिनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने मागसहित एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । एमाले विभाजनमा सभामुख अग्नि सापकोटाले भूमिका खेलेको ओलीको आरोप छ ।

प्रकाशित : २०७८ फाल्गुन २२, आईतवार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ