राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले समर्थकमार्फत बुधबार पालिकाको कार्यालयमा ताला लगाइदिएका छन् ।
अध्यक्ष मण्डलले बुधबार समर्थक महिलाहरु ल्याएर कार्यालयमा तालाबन्दी गराएका हुन् । नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर त्यहीं रहेका अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएका हुन् ।
कर्मचारीका कारण भुक्तानी रोकिएको आरोप लगाउँदै अध्यक्ष मण्डलले कार्यालयमा ताला लगाउन समर्थकहरुलाई भनेका थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आफू निमित्त भएको दुई महिना बितिसक्दा पनि पालिका अध्यक्ष मण्डलले अख्तियारी नदिएकाले कामकाज ठप्प जस्तै रहेको सुनाए ।
‘मलाई अख्तियारी दिए पो भुक्तानीहरु गर्नु रु’ प्रमुख प्रशासकीय अधिकृत यादवले भने,‘अख्तियारी नै दिएको छैन कसरी चेक काट्नु ?’ उनले महिलाहरु ताला लगाउन आएपछि आफूसहितका कर्मचारी बाहिर निस्केको बताए ।
पालिकाका एक कर्मचारीका अनुसार अध्यक्ष मण्डलले मनोमानी तरिकाले गरेको ४ करोड रुपैयाँको भुक्तानीको चेक पहिला दिएमात्र अख्तियारी दिने बताएकाले समस्या बल्झिँदै गएको हो । ‘अध्यक्षजीले आफ्नो एकल निर्णयमा आफूखुसी खरिद गरेका सरसामानको ४ करोड भुक्तानीको सर्त राखेर अख्तियारी दिइरहेका छैनन्, ती कर्मचारीले भने,‘उनले राखेको सर्तै अनुसार भुक्तानी दिन सकिने अवस्था छैन ।’
अध्यक्षले भनेअनुसार ४ करोड रुपैयाँ भुक्तानी दिन कानुनले नमिल्ने कर्मचारीहरुले बताएपछि उनी समर्थक ल्याएर पालिका कार्यालयमा ताला लगाएको ती कर्मचारीले बताए । ताला लगाउने समूहलाई अध्यक्ष मण्डलले ताला नखोल्न समेत भनेका छन् ।
गैरकानुनी भुक्तानीका लागि समर्थक उचालेर अध्यक्ष मण्डलले कर्मचारीलाई थर्काउन खोजेको कर्मचारीहरुको आरोप छ । कहिले अध्यक्ष र उपाध्यक्षबीच झडप भएर अध्यक्षको दुईवटा दाँत भाँचिने, कहिले दुई आर्थिक वर्षसम्म गाउँसभा नै गर्न नसक्ने, सामाजिक सुरक्षा भत्तासमेत वितरण गर्न नसक्ने, विद्यालयमा बालबालिकाले पाठयपुस्तक पाउन नसक्ने, शिक्षक कर्मचारीले तलब नपाउने लगायतका समस्याका कारण उक्त पालिका सधैंजसो विवादित बन्दै आएको छ ।