धनुषा काँग्रेस निर्वाचनः किन सुरु हुन सकेन दोस्रो चरणको मतदान ?


सिबेन्द्र रोहिता, जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको सभापतिका लागि विहान ८ बजेदेखि हुने भनिएको दोस्रो चरणको मतदान अझै सुरु हुन सकेका छैन ।

स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा समुहका उम्मेदवार सन्तोष यादव पक्षका केहि नेताले निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीलाई जनकपुर छाड्न धम्की दिएका थिए । सोही कारण मतदान सुरु हुन नसकेको हो ।

तर निर्वाचन सचिवालयका प्रमुख रामगुलाम कर्णले आज प्रतिस्पर्धा हुने सभापतिका दुई उम्मेदवार सन्तोष यादव र योगेन्द्र पजियारबीच छलफल चलिरहेकाले मतदान सुरु हुन नसकेको बताए ।

उनका अनुसार छलफलमा सहमती नजुटेपछि मतदान हुनेछ । मतदान सुरु गर्न भनेको आधा घण्टाभित्रै मतदान सुरु हुन्छ । हामी तयारी अवस्थामा छौं ।

निर्वाचन अधिकृत ज्ञवालीलाई केहि नेताले धम्की दिएको उनले पनि पुष्टि गरे । उनले अधिकृत ज्ञवालीलाई हिजो साँझ गालीगलौज समेत गरिएको बताए ।

पहिलो चरणमा सभापतिका तीन जना उम्मेदवार दिनेश प्रसैला, सन्तोष यादव र योगेन्द्र पजियार थिए । तर सबभन्दा कम मत ल्याएका प्रसैला प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले पजियारलाई समर्थन गरेका छन् ।

पजियार नेता विमलेन्द्र निधी समूहका उम्मेदवार हुन् । उनलाई जिताउन निधी स्वयंम र प्रदेश २ का मन्त्री समेत रहेका नेता रामसरोज यादव सक्रिय छन् । पजियारलाई समर्थन गरेका प्रसैला शेखर कोइराला समूहका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार ११:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ