मिथिला परिक्रमा : भगवान राम र सीता जस्तै कञ्चनवनमा साधुसन्त र श्रद्धालुले खेले होली


महोत्तरी । मिथिला क्षेत्रमा अहिले १५ दिने माध्यमिकी परिक्रमा जारी छ । भक्तजनको टोली बिहीबार परिक्रमाको सातौँ पडावस्थल महोत्तरीको कञ्चनवनमा पुगेका छन् ।

महोत्तरीको भंगहा नगरपालिकामा पर्ने कञ्चनवनमा बिहीबार परिक्रमामा सहभागी भक्तजनहरूले रंग र अबिर खेली होली मनाएका छन् । परिक्रमाको टोलीले कञ्चनवन पुगेर होली खेलेपछि विधिवत् रुपमा होलीको सुरुवात भएको पनि मानिन्छ ।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान् राम जानकी चारभाइ र चार बहिनीसँंगै कञ्चनवनमा होली खेलेका थिए । त्यसैको सम्झनामा कञ्चनवनमा होली खेलाइने परम्परा छ ।

कञ्चनवनमा जनकपुरधामस्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको सुरुवात गर्ने गर्दछन् । कञ्चनवनमा भक्तजन तथा साधसन्तलगायत सबैको अनुहार र कपडा रंग र अबिर रंगिएको थियो ।

मिथिला महात्मय अनुसार १८ औँ शताब्दीदेखि मनाइँदै आएको माध्यमिकी परिक्रमा जनकपुरधामको हनुमानगढीदेखि सुरु हुँदै भारतको कलाणेश्वरस्थान, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, हुँदैं धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक-एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुरधाम आइपुग्छ । पूर्णिमाका दिन जनकपुरधाममा अन्तगृह परिक्रमाका साथै होली खेलेपछि १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ ।

यसको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ । परिक्रममा भक्तजनहरूले नेपालका १ सय ७ तथा भारतका २६ गरी १ सय ३३ किलोमिटर पैदलयात्रा गर्छन् ।

प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ