वीरगञ्जमा बर्डफ्लु देखियो, १९ सय कुखुरा मरे !


वीरगञ्ज । वीरगञ्जको एक कुखुरा फार्मको कुखुरामा बर्डफ्लु संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका १५ भेडियाही टोलमा रहेको कुखुरा फार्ममा बर्डफ्लु देखिएको हो ।

भेडियाही टोलमा सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्ममा रहेका कुखुरामा बर्डफ्लु देखिएको पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा. हरेराम यादवले जानकारी दिए ।

अन्सारीले सञ्चालन गरेको कुखुरा फार्ममा रहेको १९ सय जति कुखुरा मरेपछि पशु क्वारेन्टाइन कार्यालय पर्साबाट गएको टोलीले परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा ती कुखुरामा बर्ड फलु देखिएको उनले बताए ।

बर्डफ्लुको संक्रमण कुखुरामा देखिएपछि उक्त फार्ममा रहेको ३० वटा जिउँदो, २ हजार पिस अण्डा, ३ क्विन्टल कुखुराको दाना, ३ हजार थान अण्डा राख्ने खाली कैरेट नष्ट गरिएको यादवले बताए ।

मरेका १९ सय कुखुरालाई खाल्डोमा पुरेर नष्ट गर्नुका साथै उक्त फार्मलाई सिल गरिएको यादवले जानकारी दिएका छन् ।

वीरगञ्जको मुख्य बजारमा भएको कुखुरा फार्ममा बर्ड फ्लु संक्रमण देखिएपछि आसपासका अन्य फार्ममा पनि परीक्षण गर्ने तयारी गरिएको उनले बताए ।

प्रकाशित : २०७८ फाल्गुन २७, शुक्रबार १९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ