ब्राउन सुगर कारोबारी सशस्त्र प्रहरी हवल्दारसहित ११ जना पक्राउ


काठमाडौं । काठमाडौंमा लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ११ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

कारोबारीको जालो खोल्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार पनि फन्दामा परेका छन् । ११ जनालाई विभिन्न मितिमा ३२२।६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने २५ वर्षीय लालबहादुर बुढाथोकी छन् । उनको साथबाट प्रहरीले सय ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

काठमाडौं धुम्बाराहीस्थित गेष्ट हाउसबाट अजय तामाङलाई २९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

अन्य पक्राउ पर्नेमा दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, झापाका अन्जान राई, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह छन् ।

लागुऔषधको कारोबारमा जोडिएका सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार खगेन्द्र भुजेल हुन् । भुजेल मोरङ दुलारी घर भई हाल दुई नम्बर हेडक्वाटर झापामा कार्यरत थिए ।

भुजेलको कनेक्सन भारतीय नागरिक श्याम सिंहसँग जोडिएको ब्युरो प्रमुख एसएसपी हृदय थापाले बताए । सिंहले भुजेललाई, भुजेलले सुनिल ताजपुरियामार्फत कौशल बस्नेतलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यसैगरी, लालबहादुर बुढाथोकीले कौशल बस्नेतसँग खरिद गर्ने गरेको, बस्नेतले समीर गुरूङलाई बिक्री गर्ने गरेको खुलेको छ ।प्रविण भण्डारीले भारत सिलिगुडी गएर लागुऔषध खरिद गरी अजय तामाङमार्फत् अन्जान राईलाई बिक्री गर्ने गरेको खुलेको थापाले बताए ।

उनीहरू सबैलाई लागुऔषध मुद्दामा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । सेतोपाटी

प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार ०७:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ