मधेस प्रदेश : किर्ते आरोप लागेका कर्मचारी गुप्ता गायब


रौतहट । निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन कार्यपालिकाको बैठक भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा किर्ते कागज पेस गरेको खुलासा भएपछि ईशनाथ नरपालिकाका शिक्षा संयोजक सम्पर्कविहीन छन् ।

नगरपालिकाका उपप्रमुखले उनीविरुद्ध प्रहरीमा किर्ते मुद्दा दर्ता गरेपछि उनी फरार भएका हुन् । उनी १० दिनदेखि कार्यालय आएका छैनन् । नगरपालिकाका शिक्षा संयोजक ९सुब्बा० नन्दकिशोर गुप्ता १० दिनदेखि गायब भएको नगरप्रमुख सन्तोष मेहताले बताए ।

‘संयोजक गुप्ताले कार्यालयका कसैलाई पनि कहाँ गएको भन्ने जानकारी दिएका छैनन् । बिदा पनि लिएका छैनन्- उनले भने, ‘किर्ते गरेको सार्वजनिक भएलगत्तै लुकेका छन् । हामीले प्रहरी कार्यालयमा किर्ते मुद्दा दर्ता गरिसकेका छौं ।’ सोमबार जिल्ला प्रहरीले गुप्तालाई पक्राउ गर्न अदालतबाट आदेश समेत लिइसकेको छ । उनी फरार भइसकेको कार्यलयका कर्मचारीहरु बताउँछन् ।

गुप्ताले निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्न नगर उपप्रमुख आरा, वडा अध्यक्ष इद मोहम्मदसहितका जनप्रतिनिधिहरुको नक्कली हस्ताक्षरसहित माघ २४ गते बसेको कार्यपालिकाको बैठकको निर्णय भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेपछि यही फागुन २३ गते निमित्तको जिम्मेवारी पाएका थिए ।

उपसचिवको दरबन्दी रहेको नगरपालिकामा दुई महिनाअघि मात्र मन्त्रालयले उपसचिव खिमबहादुर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । मन्त्रालयले उनलाई यही जिल्लाको कटहरिया नगरपालिका सरुवा गरेको थियो । नगरप्रमुख मेहताका अनुसार अधिकृत भुजेलको सरुवा पनि अदालतले बदर गरिदिएको छ ।

अवधि नपुगी भुजेलको सरुवा भएपछि एक साताअघि नगरप्रमुख मेहता उपप्रमुख आरा सहितका टोली मन्त्रालय पुगेका थिए । गुप्ताले कार्यपालिका बैठक सहितको निर्णय पेस गरेपछि निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयले टोलीलाई जानकारी गराएको थियो । त्यसपछि नगरप्रमुख मेहताले किर्ते गरेको कागजको मन्त्रालयबाट फोटोकपी निकाले ।

उपप्रमुख आराले आफ्नो नक्कली सही गरेको देख्दा अचम्ममा परेको सुनाइन् । ‘बस्दै नबसेको कार्यपालिकाको बैठक भनेर नक्कली हस्ताक्षर गरेको फेला पारियो,’ उनलेभनिन्, ‘किर्ते गरेको फेला पारेपछि किर्ते मुद्दा दर्ता गरेका हौं । त्यसपछि उनी गायब छन् ।’

उपप्रमुख आराको जाहेरीले गुप्ता विरुद्ध किर्तेको मुद्दा दर्ता भइ पक्राउ आदेश जारी भएको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । शिक्षा संयोजक गुप्ताले आफूलाई मन्त्रालयले जिम्मेवारी दिएपछि राजनीति पूर्वाग्रही राख्ने काम भएको दाबी गर्दै आएका छन् ।

मन्त्रालयले निमित्त दिएपछि केही दिन अघि उनी हाजिर हुन नगरपालिका गएका थिए । तर स्थानीयको चर्को नाराबाजीपछि उनी हाजिर हुन पाएनन् । यसअघि गुप्ताले सोही नगरपालिकामा दुई पटकसम्म निमित्तको जिम्मेवारी पाइसकेका छन् ।

पछिल्लो समय मन्त्रालयले पनि स्थानीय तहहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन कार्यपालिकाको बैठकको निर्णयसहितको सिफारिस पत्र मगाउने र सोही आधारमा शिक्षा, स्वास्थ्य र प्राविधिकका कर्मचारीलाई हचुवाको भरमा जिम्मेवारी तोक्दै आएको छ । यही कारण जिल्लाका अधिकांश नगरपालिकाहरुमा कार्यरत स्वास्थ्य, शिक्षा, प्राविधिकका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

जिल्लाका १८ वटा नगरपालिकामध्ये १६ वटामा उपसचिवस्तरको प्रशासकीय प्रमुखको दरबन्दी छ । दुईवटा गाउँपालिकामा शाखा अधिकृतको व्यवस्था गरेको छ । चन्द्रपुर र ईशनाथ बाहेक कुनै नगरपालिकामा उपसचिव पठाइएको छैन । उपसचिव नभएको नगरपालिकामा निमित्तको भरमा चलेको छ ।

प्रकाशित : २०७८ चैत्र २, बुधबार २२:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ