होलीका नाममा जथाभावी गरे प्रहरीले तत्कालै कारबाही गर्ने


काठमाडौं । काठमाडौं उपत्यकाका काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावी गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गरिने बताएका छन् ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै इच्छाविपरीत कसैलाई फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गरिने चेतावनी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न सचेत गराइएको छ । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताएका छन् ।

सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गरिएको छ । ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरी सभ्य, भव्य तथा सुसंस्कृत रूपमा मनाउन भक्तपुर जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको छ ।

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) होली अर्थात् फागु पर्व मनाईँदै छ । फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । कोरोना संक्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ । यसअघिका दुई वर्ष कोरोना संक्रमणाको कारण होली पर्व खल्लो भएको थियो ।

प्रकाशित : २०७८ चैत्र ३, बिहीबार ०९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ