जनकपुर- जयनगर रेल : उद्घाटन नहुँदा खाली सिट गुड्छन्


जनकपुर । फागुन १ यता हर्न बजाउँदै दिनहुँ नेपाली रेल रित्तै जनकपुर हुँदै कुर्था पुगेर फर्किन्छ । एकैपटक १ हजार ३ सय जना यात्रु बोक्ने रेलमा चालक दल र सुरक्षाकर्मीले ओगेटेका दुई–चार सिटबाहेक सबै खाली हुन्छन् ।

रेल गुड्ने बेलामा लिकवरिपरि स्थानीयको भीड लाग्छ । धेरैजसोको चाहना छ, नेपाली रेल चढूँ । तर, उद्घाटन तगारो बनिदिँदा नेपाली रेलमा यात्रु चढ्न नपाउँदा आम्दानी पनि गुमिरहेको छ । फागुन तेस्रो साताभित्र रेलको उद्घाटन हुने आश्वासन पाएपछि नेपाल रेलवे कम्पनीले फागुन १ देखि ड्राई रन थालेको हो ।

यसअघि धेरैपटक उद्घाटनको बाचा पूरा नहुँदा रेल सञ्चालन अन्योलमा मात्र परेको थियो । तर यसपालिको बाचा घर्किंदा रेलवे कम्पनीको नोक्सानी बढेको बढ्यै छ । नेपाल र भारतका प्रधानमन्त्रीले रेलको उद्घाटन गर्ने भनिए पनि दुवै प्रधानमन्त्रीको समय नजुर्दा ड्राई रन लम्बिएको छ ।

रेलको उद्घाटन कहिले हुन्छ, अझै टुंगो लागेको छैन । ड्राई रन खर्चिलो भएपछि मंगलबारदेखि एक दिन बिराएर मात्रै रेल सञ्चालन गरिएको छ । रेल एक दिन ड्राई रन गर्दा डिजेल मात्रै १ सय २५ लिटर खर्च हुन्छ । यसका लागि फागुनमा मात्र करिब ४ लाख ७० हजार रुपैयाँ डिजेलमै खर्च भएको छ । प्राविधिक र कर्मचारीको तलब जोड्दा रेलवे कम्पनीले ड्राई रनमै ६० लाखभन्दा बढी रकम खर्चिएको छ । तर, आम्दानी शून्य हुनुमा उद्घाटन नै कारक बनेको छ ।

‘प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासमार्फत दुवै देशका प्रधानमन्त्रीको समय मिलाउन प्रयास गरे पनि सम्भव भइरहेको छैन,’ रेलवे कम्पनीका एक अधिकारीले भने, ‘रेल सञ्चालनका लागि जारी अध्यादेश पनि निष्क्रिय भएपछि रेल सञ्चालन झन् अनिश्चित बनेको छ ।’

इन्धन, प्राविधिक र सुरक्षालगायतमा खर्च नियन्त्रण गर्न ड्राई रनलाई खुम्च्याइएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । ‘रेलको प्राविधिक पक्ष दुरुस्त राख्न फागुन १ देखि परीक्षणका रूपमा दैनिक ड्राई रन गराइएको थियो,’ उनले भने, ‘आर्थिक भार थपिन थालेपछि एक दिनको अन्तरालमा गराउन थालिएको छ ।’

फागुनभित्र रेल सञ्चालन गर्ने तयारी रहे पनि सरकारले चासो नदिँदा २०७८ सालमा रेल गुड्ने सम्भावना पनि टरेको देखिन्छ । ‘तीन महिनादेखि रेल सञ्चालनका लागि तयारी अवस्थामा छौं,’ झाले भने, ‘तर सरकारले रेल सञ्चालनसम्बन्धी कानुन ल्याउन सकेको छैन । हाम्रो तयारीले मात्रै रेल चलाउन नसक्ने स्थिति छ ।’

रेलको ड्राई रन गर्न भारतको कोंकण रेलवे कम्पनीका १४ जना प्राविधिक र नेपाली टोली अहिले खटिएका छन् । कोंकण कम्पनीका २६ जना प्राविधिकसहितको टिमले भने उद्घाटनपछि रेलवे सञ्चालन गर्नेछ । कोंकण कम्पनीका बाँकी १२ जना कर्मचारी उद्घाटनपछि मात्र आउनेछन् । – कान्तिपुरबाट

प्रकाशित : २०७८ चैत्र ५, शनिबार ०८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ