जनकपुरको मेयरमा दर्जनभन्दा बढी आकांक्षी, गठबन्धनको सम्भावना न्यून !


जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरको मेयर हत्याउन दलहरूबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।वीरगञ्ज महानगरझैँ नेताहरू अदलबदल नभए पनि मेयरका आकांक्षीहरूको संख्या दर्जनभन्दा बढी देखिएका कारण प्रतिस्पर्धा रोचक हुने आकलन गर्न थालिएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, लोसपालगायत दलभित्र मेयरका आकांक्षीहरू पार्टी नेतृत्वलाई रिझाउने प्रयासमा जुटेका छन् ।

जसपाबाट बहालवाला मेयर लालकिशोर साहले नै दोहोरिने इच्छा देखाएका छन् । उनले जसपाभित्र लबिङ बढाइरहेका छन् । अघिल्लो चुनावमा साह २१ हजार २ सय ७७ मत ल्याएर विजयी भएका थिए । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपाबाट मेयर जितेका साह पार्टी विभाजनपछि अहिले उपेन्द्र यादव नेतृत्वको जसपामा छन् । र, जसपाको तर्फबाट साह नै पुनः मेयरमा दोहोरिने सम्भावना रहेको जसपाकै नेताहरू बताउँछन् ।

साहका निकटतम प्रतिद्वन्द्वी भने कांग्रेसका उम्मेदवार मनोज साह थिए । उनले १० हजार ६ सय ३९ मत ल्याएका थिए । आउँदो वैशाखको चुनावमा पनि साहले कांग्रेसबाट मेयर उठ्ने आंकाक्षा राखिरहेका छन् । साहसँगै कांग्रेसका नेता बजरंग साहले पनि मेयरको दाबी गरिरहेका छन् ।

जनकपुरमा कांग्रेस र मधेस केन्द्रित दलबीच परम्परागत प्रतिस्पर्धा छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजववादीको प्रभाव तुलनात्मक रूपमा कमजोर रहेको विश्लेषण गरिन्छ । मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को दाबी पनि बलियो छ । लोसपाबाट मनोज चौधरी बलिया दाबेदार हुन् ।

त्यसो त, हालका उपमेयर रीताकुमारी मिश्र पनि मेयरको आकांक्षी छिन् । लोसपामा आबद्ध उपमेयर मिश्रले १६ हजार ६१७ मत ल्याएर कांग्रेसका उम्मेदवार निलमकुमारी कर्णलाई पराजित गरेकी थिइन् । कर्णले १० हजार १०९ मत ल्याएकी थिइन् । एकपटक मेयर भएर काम गर्ने इच्छा रहेको भन्दै मिश्रले पार्टीभित्र अनौपचारिक छलफल पनि चलाएकी छिन् ।

मिश्रले पार्टीले विश्वास गरेर मेयरको टिकट दिए उपमेयरको ५ वर्षको अनुभवका आधारमा अहिलेको भन्दा राम्रो काम गरेर देखाउने उनले दाबी गरिन् । मिश्रले भनिन्, ‘पुरुष मेयरले विकास भनेको भौतिक पूर्वाधारलाई मात्रै बुझेको देखियो । म मेयर भएँ भने मानवीयसहित समग्र विकासमा जोड दिन्छु । त्यसैले, मेरो मेयरमा सशक्त दाबी छ ।’

लोसपाबाट मेयरका अर्को बलियो दाबेदारका रूपमा प्रदेशसभा सदस्य परमेश्वर साह देखिएका छन् । शिलापत्रसँग कुराकानी गर्दै साहले पार्टीले निर्णय गरेर मेयरमा पठाए आफू जान तयार रहेको बताए । उनले भने, ‘जनता र कार्यकर्ताले मेयरमा आउन आग्रह गरिरहेको तर पार्टीभित्र अन्य साथीहरू पनि दाबेदार रहेका कारणले सबैको चित्त बुझाएर पार्टी एकढिक्का हुने अवस्थामा मात्रै उम्मेदवार हुन्छु ।’

जनकपुपरमा बलियो संगठन रहेको लोसपामा दाबेदारको संख्या आधा दर्जनभन्दा बढी देखिएको छ । प्रदेशसभा सदस्य साहका अनुसार, मनोज चौधरीसँगै जानकीराम साह पनि मेयरको दाबी गरिरहेका छन् । जानकीराम जनकपुरको वडा नम्बर ७ का वडाध्यक्ष हुन् । साह व्यक्तिगत रूपमा पनि प्रभावशाली रहेका कारण मेयरको दाबी गरिरहेका छन् । लोसपाबाट मेयरको टिकट नपाएको अवस्थामा माओवादी केन्द्रले उनलाई मेयरको उम्मेदवार बनाउनेसम्मको चर्चा जनकपुरमा छ ।

अघिल्लो स्थानीय चुनावमा तेस्रो स्थानमा रहेको एमालेमा शिवशंकर साह ‘हीरा’ ले यसपटक पनि मेयरमा दाबी गरिरहेका छन् । हीराबाहेक एमालेमा मेयरको अरु दाबेदार अहिलेसम्म खुलिसकेका छैनन् । अघिल्लो चुनावमा एमालेले ४ हजार ८ सय ६५ मत ल्याएको थियो ।

त्यसैगरी, जनकपुरधाम उपमहानगरमा एकीकृत समाजवादीबाट अजय झाले मेयरको दाबी गरिरहेका छन् । एमालेबाट विभाजित एकीकृत समाजवादीको संगठनमा राम्रै पकड रहेका कारण झाको दाबी देखिएको बताइन्छ । स्थानीय चुनावमा गठबन्धन हुने वा नहुने टुंगो नलागेका कारण जनकुपरको चुनावी चित्र भने प्रस्ट भइसकेको छैन ।

सत्ता गठबन्धन कायम रहेको अवस्थामा जसपाले मेयरमा दाबी गर्ने स्थिति देखिन्छ । साह बहालवाला मेयर भएका कारण जसपाको दाबी हुन सक्छ । त्यसमा कांग्रेसले सहमति जनाउने सम्भावना कमै छ । गठबन्धन नहुने अवस्थामा जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच गठबन्धन बनेर साहले मेयरको दाबी गर्न सक्ने बताइन्छ ।

त्यस्तोमा कांग्रेस, एमाले, जसपासहितको गठबन्धनवाला र लोसपाको उम्मेदवार रहन सक्छन् । जुनसुकै गठबन्धन बने पनि लोसपाले जनकपुरको उपमहानगरको मेयर पदमा दाबी नछोड्ने केन्द्रीय कार्यकारिणी सदस्य केशव झा बताउँछन् । उनले भने, ‘हामी एकल रूपमै चुनाव जित्न सक्छौँ । त्यस्तो अवस्थामा गठबन्धन गरेर किन मेयर पद छोड्ने र ?’ – शिलापत्रबाट साभार

प्रकाशित : २०७८ चैत्र ५, शनिबार ०८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ