सिरहा आएर प्रचण्डले भने- एमाले र केपी ओलीकै कारण मधेसको अधिकार कुण्ठित भयो


सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको अधिकार र पहिचान स्थापित गर्न एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले बाधा हालेको आरोप लगाएका छन् ।

सिरहाको मिर्चैया नगरपालिकामा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले संविधानमा पर्याप्त मात्रामा मधेसी जनताको पहिचान र अधिकार प्रत्याभूत नभएको बताए ।

‘म दोस्रो चोटि प्रधानमन्त्री हुँदा मधेसी जनताको पहिचान र अधिकार संविधानमा जति लेखिनुपर्थ्यो लेखिएको छैन, हाम्रो त्यसमा रिजर्भेसन छ, सहमति छैन भनेर भन्दै आएको तपाईंहरूलाई थाहा छ,’ अध्यक्ष प्रचण्डले भने,‘म नै त्यस्तो प्रधानमन्त्री भएँ । दुई चोटि मधेसी जनताको र आदिवासी जनजातिको अधिकारलाई अझ परिमार्जित गर्न संविधान संशोधन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराए ।’

यसरी पटक-पटक आफूले प्रस्ताव ल्याउँदा ती प्रस्तावलाई अगाडि बढ्न नदिन एमाले अध्यक्ष ओलीले बाधा हालेको उनले आरोप लगाए ।

‘तपाईंहरूलाई यो कुरा थाहा छ वा छैन । के कारणले त्यो प्रस्ताव कसका कारणले अगाडि बढेन ?’ प्रश्न तेर्स्याउँदै उनले भने,‘म बडो प्रष्टसँग भन्न चाहन्छु एमाले भन्ने पार्टी र केपी ओली भन्ने नेताका कारणले नै मधेसी जनताको पहिचान र अधिकारको संशोधन प्रस्ताव पारित नभएको हो ।’

यो ऐतिहासिक तथ्यलाई स्मरण गरेर राख्न उपस्थित मधेसी समुदायलाई उनले आग्रह गरे ।

प्रकाशित : २०७८ चैत्र २४, बिहीबार १९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ