जनकपुरधाम मेयरका लागि लोसपामा महन्तदेखि सांसदसम्मको नाम सिफारिस


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधामका मेयरका लागि महन्तदेखि सांसदसम्मको नाम सिफारिस भएको छ ।

आज बसेको जनकपुरधाम उपमहानगर कमिटीको बैठकले मेयर र उपमेयरको नाम सिफारिस गरेको हो । एक नेताका अनुसार मेयरका लागि संजय कुमार चौधरी, मनोज चौधरी, परमेश्वर साह, अमर पजियार र जानकीराम साहको नाम प्रस्ताव गरिएको छ।

मेयरका लागि सिफारिस सूचीमा परेका परमेश्वर साह प्रदेश सांसद र अमर पजियार एक मन्दिरका महन्त हुन् । लोसपाका केन्द्रीय सदस्य समेत रहेका मनोज चौधरी बस व्यासायी पनि छन् । यस्तै जानकीराम साह वडा नम्बर ७ का वडाध्यक्ष हुन् ।

लोसपाको तर्फबाट उपमेयर पदका लागि विभा ठाकुर, रिता मिश्र, पुनम झा ‘मैथिली’, विभा पाण्डे र पुनम साहको नाम प्रस्ताव गरिएको छ । लिया मिश्र जनकपुरधामकी उपमेयर छन् ।

महन्थ ठाकुरकै नेतृत्वमा रहेको तत्कालिन राजपाबाट जनकपुरधामको मेयर, उपमेयर र २५ मध्ये १२ वडाध्यक्ष विजयी भएको थियो । निर्वाचित मेयर लालकिशोर साह अहिले जनता समाजवादी पार्टी (जसपा)मा छन् । उनी जसपाबाट पुन: मेयरका अब्बल दाबेदार छन् ।

जनकपुरधाम समेत पर्ने धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभा सदस्यमा राजेन्द्र महतो निर्वाचित छन् । ठाकुर र महतोले राम्रो पक्कड बनाएको जनकपुरधाममा पछिल्लो समय कमजोर देखिन्छ ।

जनकपुरमा यसवर्ष लोसपा, नेपाली कांग्रेस, जसपा र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय बताउछन् । एमालेले आज मात्र शिवशंकर साह ‘हिरा’लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य दल भने मेयरका उम्मेदवार चयन गर्न सकेका छैन ।

प्रकाशित : २०७८ चैत्र २७, आईतवार १९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ