वीरगञ्जको मेयरमा एमालेबाट मेयर विजय सरावगीकै नाम सिफारिस


वीरगन्ज । आसन्न स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेले विजय सरावगीको नाम सिफारिस गरेको छ ।

एमाले वीरगन्ज महानगर कमिटीको पूर्ण बैठकले बुधबार महानगरपालिकाको मेयरको उम्मेदवारमा सरावगीलाई सर्वसम्मतले सिफारिस गर्ने निर्णय गरेको हो । गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए ।

मेयरमा निर्वाचित भएको केही महिनापछि नै सरावगीले पार्टीबाट असहयोग भएको गुनासो गर्दै आएका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन उनी त्यसबेला काठमाडौं पुगेका थिए । मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका थिए ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली वैवाहिक समारोहमा वीरगन्ज आएको बेला सरावगी एमाले प्रवेश गरेका थिए । महानगर कमिटी उपाध्यक्ष महेश दासका अनुसार बुधबारको बैठकमा सचिव सुन्दर कर्मीले मेयर पदका लागि विजय सरावगीको नाम प्रस्ताव गरेका थिए ।

‘महानगर कमिटीको बैठकले मेयरमा विजय सरावगीको नाम सिफारिस गरेको छ,’ बैठकपछि उपाध्यक्ष दासले भने, ‘उपमेयर र वडाध्यक्षको नाम बिहीबार टुंगो लगाउँछौं ।’ उनका अनुसार उपमेयर र वडाध्यक्षको नाम टुंगो लगाउन बुधबारको बैठकले महानगर कमिटीको पदाधिकारीलाई जिम्मा दिएको छ ।

प्रकाशित : २०७८ चैत्र ३०, बुधबार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ