बालुवाटारमा मध्यरातसम्म छलफल, जनकपुरमा अल्झियो भागबन्डा


काठमाडौं । सत्तारूढ पाँच दलका शीर्ष नेताहरूले महानगरपालिका भागबन्डा गरे पनि उपमहानगरपालिकाबारे गए राति अबेरसम्म छलफल गर्दा पनि सहमति जुटाउन सकेका छैनन् ।

बालुवाटारमा गए राति १ बजेसम्म छलफल चलेको थियो । छ महानगरमध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर लिने भएको छ । यी ठाउँमा उपमेयर अन्य पार्टीबाट हुनेछन् ।

बाँकी तीन महानगरमध्ये भरतपुर नेकपा माओवादी केन्द्रलाई, पोखरा नेकपा एकीकृत समाजवादीलाई र वीरगञ्ज जनता समाजवादी पार्टी नेपाललाई दिने सहमति छ । मेयर पाएका दलले उपमेयर फरक दललाई दिने सहमति छ ।

मंगलबार दुई चरणमा छलफल भएको थियो । राति अबेरसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमै थिए ।

११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी छलफल भएको एक नेताले बताए । जनकपुर उपमहानगर जसपालाई दिने प्रस्ताव छ तर जनकपुरमा कांग्रेस र जसपाले दाबी गरेका छन् ।

कांग्रेसले वीरगञ्ज महानगर मेयर आफूहरूले छाडेकोले जनकपुरको मेयर पाउनुपर्ने दाबी गरेको छ । जनकपुर कसले लिने भन्नेमा सहमतिमा गठबन्धन पुग्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रले घोराही र जितपुर-सिमरा पाउनेबारे छलफल भएको थियो भने नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महानगर र उपमहानगर भागबन्डाबारे दलहरू सहमति नजिक पुगिसकेको बताए दलहरूले उपमहानगरबारे आज बिहान ११ बजे फेरि छलफल गर्दैछन् । – सेतोपाटी

प्रकाशित : २०७९ बैशाख ७, बुधबार ०६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ