किसानका लागि मिनी टिलर किन्दा साढे ४३ लाख भ्रष्टाचार


काठमाडाैं । किसानका लागि कृषि उपकरण खरिदमा साढे ४३ लाख अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसचिव, उपसचिव र अधिकृतसहित पाँचविरुद्ध मुद्दा दायर गरेको छ ।

लुम्बिनी प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वैकुण्ठ अधिकारी, महाशाखा प्रमुख (उपसचिव) श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत (शाखा अधिकृत) मुकेश राम्जाली नेपाली तथा आपूर्तिकर्ता कम्पनी आधुनिक कृषि किसान संसार र त्यसका प्रबन्ध–निर्देशक राजाराम तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

कम इन्जिन क्षमताको मिनी टिलर खरिद गरी झुटा बिल बनाएर दोहोरो भुक्तानी दिएको आरोप उनीहरूमाथि लागेको छ । अख्तियारले प्रमुख अभियुक्त बनाएका अधिकारी अहिले पनि लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव छन् । तर, मुद्दा दायरसँगै उनी स्वतः निलम्बित भएका छन् ।

प्रदेश मन्त्रालयको कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत ०७५/७६ मा किसानलाई मिनी टिलर आपूर्ति र भुक्तानीमा ४३ लाख ३७ हजार पाँच सय रुपैयाँ अनियमितता भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

मन्त्रालयबाट स्वीकृति प्राप्त आपूर्तिकर्ता कम्पनी आधुनिक कृषि किसान संसारले भारतीय कम्पनीको मिनी टिलर खरिद गरेर वितरण गर्ने सम्झौता गरेको थियो । सोहीअनुसार भारतीय कम्पनीकै मिनी टिलर वितरण गर्ने भनेर कम्पनीले किसानसँग फारम भराई सोहीअनुसार रकम लिएको थियो ।

तर, चिनियाँ कम्पनीको कम मूल्य पर्ने न्यून गुणस्तरको मिनी टिलर खरिद गरेर वितरण गर्‍यो । त्यही कम्पनीलाई मन्त्रालयले एउटै भ्याट बिलबाट दोब्बर भुक्तानी गरिदियो । कम मूल्यमा मिनी टिलर खरिद गरेको आपूर्तिकर्तालाई सम्झौताबमोजिमको रकम भुक्तानी गर्दा नक्कली बिल बनाएर दोब्बर भुक्तानी दिइएको थियो ।

प्रकाशित : २०७९ बैशाख ७, बुधबार १०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ