वीरगन्जमा एमालेसंग चुनावी तालमेल गर्दा लोसपामा चर्कियो विवाद


जनकपुरधाम । आसन्न स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेल हुने भएको छ ।

आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुखमा एमाले र उपप्रमुखमा लोसपाबाट साझा उमेदवार उठाउने गरी तालमेलको सहमति भएको जानकारी गराइयो । सहमतिपत्रमा एमालेका जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।

पत्रकार सम्मेलनमा एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्ण, लोसपाका प्रदेश सांसद रमेश पटेल र विमल श्रीवास्तवलगायत नेता–कार्यकर्ता उपस्थित थिए ।

लोसपाका केही स्थानीय नेताले भने तालमेलको विरोध गरेका छन् । आफूहरूले तालमेल नमान्ने अडान लिएको नगर सभापति ओमप्रकाश सराफले बताए । तालमेलको निर्णयविरुद्ध आफूहरू बैठकमा बसेको र केही समयमै विज्ञप्ति जारी गरेर विरोध गरिने उनको भनाइ छ ।

‘यस्तो गम्भीर विषयमा बृहत् छलफल हुनुपर्थ्यो । जिल्ला कमिटी, प्रदेश कमिटीमा पनि छलफल हुनुपर्थ्यो,’ उनले भने, ‘प्रक्रियाविपरीत कुनै व्यक्तिको स्वार्थका लागि गरिएको तालमेलको हामी विरोध गर्छौँ ।’

प्रकाशित : २०७९ बैशाख ८, बिहीबार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ