चोरीको मोटरसाइकल चलाउँदै आएका वडाध्यक्ष पक्राउ


सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

प्रहरीले ४ वैशाखमा जाजरकोट नलगाड–१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु ५९ प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको प्रहरीले मोटरसाइकल बरामद गरेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा उक्त मोटरसाइकल नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेको खुलेको थियो । निजलाई खोजतलासको क्रममा ६ वैशाखमा प्रहरी टोलीले फेला पारेको थियो ।

जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पुनमाथि थप अनुसन्धान भइरहेको छ । वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाउँदै आएका थिए । तर, उनीसँग मोटरसाइकलका कुनै कागजपत्र थिएन ।

वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरि दोहोरिने इच्छा राखेका उनलाई चोरी काण्डले धक्का लागेको छ ।

प्रकाशित : २०७९ बैशाख ८, बिहीबार १४:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ