सिरहा : छोरा घुससहित पक्राउ परेपछि निलम्बित मेयर मण्डलले पाए सफाई


जनकपुरधाम । घुस काण्डमा मुछिएपछि निलम्बित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल चुनावको मुखमा उन्मुक्ति पाएका छन् ।

विशेष अदालतले मेयर मण्डल, उनका छोरा सन्त कुमार र अन्य एक व्यक्तिलाई भ्रष्टाचार मुद्दामा सफाई दिएको हो । आसन्न स्थानीय निर्वाचन अन्तर्गत मनोनयन दर्ता गराउने दुई दिन मात्र बांकी रहदा (वैशाख ९ गते) उनीहरुलाई अदालतले उन्मुक्ति दिने फैसला गरेको छ ।

घुस रकमसहित मेयर मण्डलका छोरा सन्त कुमार र उनीसंगै रहेका जितेन्द्र महतोलाई असार ३१ मा लहान बजार क्षेत्रबाट अख्तियारको टोलीले ५ लाख रुपैया घुस रकमसहित पक्राउ गरेको थियो ।

मेयर मण्डलले नै घुस लिन छोरा र सहयोगीलाई पठाएको कुरा अनुसन्धानबाट खुलेको भन्दै तीनै जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर चुनावको मुखमा सफाई दिएपछि अदालतमाथि समाजिक संजालमा अनेक टिकाटिप्पणी भइरहेको छ ।

सिरहाका पत्रकार विनय यादव सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘सत्ता र शक्ति मात्रै हुनुपर्छ, यो देशमा जे पनि सम्भव छ । घुसकाण्डमा निलम्बित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल सफाइ पाएका छन् । यस्ता घुसखोर, कमिसनखोर र भ्रष्टाचारीहरुलाई कारवाही गर्न विषेश अदालतलाई कुन प्रमाण अपुग भइदिन्छ ?’

नेपाली कांग्रेसबाट निर्वाचित मेयर मण्डल पार्टी सभापति शेरबहादुर देउवा खेमाका हुन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले पुन: चुनाव लड्न मेयर मण्डललाई अदालतबाट सफाई दिन लगाएको चर्चा चलेको छ ।

मेयर मण्डलले लेनदेनको विषयलाई घुस भनेर फसाउने षड्यन्त्र गरिएको थियो र अदालतले सत्यतथ्य बुझेर सफाई दिने फैसला गरेको बताए । भोली आइतबार केहिबेरका लागि भएपनि नगरपालिकामा बस्ने उनको भनाई छ ।

उनले पुन: मेयरमा चुनाव लड्ने आकांक्षा पनि सुनाए । उनले भने, ‘छ/सात जनाको नाम सिफारिस भएको छ । सबैले सर्वसम्मत रुपमा मलाई अगाडी सारियो भने मेयरमा पुन: लड्न तयार छौं ।’

प्रकाशित : २०७९ बैशाख १०, शनिबार ११:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ