उपेन्द्र यादवका छोरा बने विराटनगरको उपमेयर उम्मेदवार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले विराटनगर महानगरपालिकामा उपमेयरको उम्मेदवार अमरेन्द्र यादवलाई बनाएको छ ।

जसपा मुख्यालयको बैठकबाट अमेरेन्द्रलाई विराटनगर उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार बनाइएको कार्यकारिणी सदस्य प्रदीप यादवले जानकारी दिए ।

उपमेयरका उम्मेदवार बनाइएका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । उपमेयरका लागि महानगर कमिटी अध्यक्षसमेत रहेका यादवसहित केन्द्रीय सदस्य भूराज राई, डा.रामविलास यादव, उपाध्यक्ष मोहम्मद नसरुल, प्रदेससभा सदस्य विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम सिफारिस भएको थियो।

सिफारिस भएका ८ जनामध्ये जसपाले अमरेन्द्रलाई विराटनगरको उपमेयर उम्मेदवार बनाउने निर्णय गरेको हो । उपमेयरमै सिफारिस भएका उमेश यादवले आइतबार स्वतन्त्रबाट महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।

उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट विराटनगरको मेयरका उम्मेदवार थिए । त्यस्तै जसपाले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले प्रवेश गरेका सिंह केही दिनअघि जसपा प्रवेश गरेका थिए। अघिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा चुनाव लडेका उनी तेस्रो स्थान हासिल गरेका थिए । सत्तागठबन्धनको भागबन्डामा जसपाले वीरगञ्जमा मेयर र विराटनगरमा उपमेयर पाएको छ ।

प्रकाशित : २०७९ बैशाख ११, आईतवार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ