निर्वाचन आयोगले भन्यो- अहिलेसम्म कुनै उम्मेदवार निर्विरोध भएको छैन


काठमाडौं । निर्वाचन आयोगले कानुन बमोजिम अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको स्पष्ट पारेको छ ।

कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भएपनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

विभिन्न ठाउँमा रुपमा निर्विरोध भएको भनेर भनिएपनि आयोगले भने त्यसरी कसैलाई पनि निर्विरोध भनेर घोषणा गरेको अवस्था नरहेको उनको भनाइ छ ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १३ गते दाबी विरोधको समय दिएको तथा १४ र १५ गते दाबी उपरमाथि छानबिन गरेर नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको उनले बताए ।

‘एकजना मात्रैको मनोनयन भएपनि सिधै हामीले निर्विरोध भन्न सक्दैनौँ’, उनले भने, ‘कानुनको कसीमा उहाँ एकजना भएपनि कानुनको द्वारबाट छिर्न सक्नुपर्छ । दाबी विरोधको प्रक्रियाबाट पनि सफल हुनुभयो भने चाहिँ निर्विरोध हुन सक्नुहुन्छ । आयोगले अहिलेसम्म त्यसरी भनेको छैन ।’

दाबी विरोधको प्रक्रिया सकिएपछि चाहिँ उनीहरु निर्विरोध भएको घोषणा गरिने अर्यालले स्पष्ट पारेका छन् ।

प्रकाशित : २०७९ बैशाख १५, बिहीबार १८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ