औरही गाउँपालिकामा जसपा अध्यक्षका उम्मेदवार शिवजी यादवले सुरु गरे घरदैलो अभियान


लहान । सिरहाको औरही गाउँपालिका अध्यक्षमा जसपाको तर्फबाट उम्मेदवार बनेका शिवजी यादव घरदैलो अभियान सुरु गरेका छन् ।

अध्यक्षका उम्मेदवार यादव, उपाध्यक्ष उम्मेदवार रेणु कुमारी यादव, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारहरु आज औरही गाउँपालिका ५ बाट घरदैलो अभियान सुरु गरेका हुन् । डिहवार थानमा पूजाआजा गरेर घरदैलो अभियान सुरु गरेका उनीहरु निर्वाचित भएपछि जनताको सेवक बनेर गाउँको चौतर्फी विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रण लिएका छन् ।

०७४ सालको निर्वाचनमा यादव मात्र ६ भोटले गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । जसपाले पुनः उनलाई नै अध्यक्षमा उम्मेदवार बनाएको छ । यो चुनावमा पुरानै प्रतिस्पर्धी रहेकाले यादव विजयी हुने सम्भावना बढेको स्थानीय बताउँछन् ।

औरही गाउँपालिकामा नेकपा माओवादी केन्द्रले निवर्तमान अध्यक्ष सिद्धार्थ यादवलाई नै उम्मेदवार बनाएको छ । यस्तै नेपाली काँग्रेसबाट पनि पुनः सुभाष यादव चुनावी मैदानमा उत्रेका छन् ।

नेकपा एमालेबाट बिरेन्द्र यादव र जनमत पार्टीबाट सञ्जय यादव अध्यक्षका उम्मेदवार हुन् । एमाले र जनमत पार्टी मात्र नयाँ फेस अगाडी सारेका छन् । यो निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित : २०७९ बैशाख १८, आईतवार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ