जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने


काठमाडौं । यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ ।

नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक घिमिरेले बताए।यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको उनको भनाइ छ ।

‘जेठ १ गतेदेखि नै नयाँ व्यवस्था लागू गर्ने हाम्रो योजना हो । सार्वजनिक बिदा पर्ने भएकाले यो व्यवस्था जेठ ४ गतेबाट लागू गर्ने तयारी छ,’ उनले भने । महानिर्देशक घिमिरेका अनुसार लाइसेन्सका लागि यसअघि परेका सबै आवेदनको लिखित र ट्रायल दुवै परीक्षा सकिन लागेको अवस्था छ ।

‘उपत्यका बाहिर प्रायः सबै कार्यालयले पुराना आवेदनको परीक्षा सकिसकेका छन्। उपत्यकाभित्र पनि एकादुई कार्यालयको बाँकी छ,’ घिमिरेले भने । गत चैतदेखि विभागले आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै आवेदन प्रणाली बन्द गरेको छ ।

विभागका अनुसार आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो। सबै आवेदकहरूको ट्रायल यही वैशाखभित्र सकिने विभागले बताएको छ ।कतिपय कार्यालयहरूले बिहान, दिउँसो र साँझ तीन सिफ्टमा परीक्षा सञ्चालन गरेर सकाइसकेको विभागको भनाइ छ ।

अब जम्मा भएको चाप सकेर विभागले नयाँ प्रणाली लागू गर्छ जुन प्रणालीमा विभागले सीमित आवेदन लिन्छ । यसपछि परेका आवेदनको परीक्षा सकाएर मात्रै नयाँ आवेदन खुला गर्छ । एक लटमा बढीमा १५ दिनसम्म पालो आउने गरी आवेदन लिने विभागको योजना छ । सेतोपाटी

प्रकाशित : २०७९ बैशाख २३, शुक्रबार १४:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ