मौसमविद्ले भने- चुनावको दिन पानी पर्नसक्छ


काठमाडौं । मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने सम्भावना औंल्याउँदै आवश्यक पूर्वतयारी गर्न सचेत गराएका छन् ।

बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुद्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने उनीहरुको भनाइ छ ।

मौसमविद् डा धर्मराज उप्रेतीले आसानी नाम दिइएको सो आँधी निकै तिव्र गतिमा चलेको बताए । सो आँधीको असर भारतको ओडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए ।

‘२५ गतेदेखि बंगालको खाडीमा न्युन चापिय अवस्था समुद्री आँधिको रुपमा विकसित भएको छ । यो न्युन चापीय अवस्था बैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्युन चापीय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधीको रुप लिएको छ । जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ’, उनले भने ।

उनले थपे, ‘त्यो समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर बैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आकलनबाट देखिएको छ । उसैपनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानी पर्ने अवस्था थियो । र अहिले नयाँ प्रणालीले गर्दाखेरी हाम्रो चुनावको मुखमा पानी पर्ने र चुनावको मुखमा पानी पर्दाखेरी त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ होला भन्ने एउटा सुझाव । दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले, नपर्न पनि सक्छ, कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि पनि हुन सक्छ । त्यसले गर्दा हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ ।’

पानीमा मतदाता र मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्ने भन्दै उनले यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक रहेको बताए । – रातोपाटी

प्रकाशित : २०७९ बैशाख २५, आईतवार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ