मेयर उम्मेदवार मनोज चौधरी भन्छन्- जनकपुरवासीले मलाई जिताउँछन्


जनकपुरधाम । २०७४ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर जितेको राष्ट्रिय जनता पार्टी (राजपा) अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ ।

यो पार्टीले यसपटक मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई उम्मेदवार बनाएको छ । लोसपाले मिश्रलाई दोहोर्‍याएर उम्मेदवार बनाएको हो । मेयरका उम्मेदवार चौधरी मूलतः व्यवसायी हुन् ।

उनी पटक–पटक जनकपुर अञ्चल बस व्यवसायी संघ र ग्याँस व्यवसायी संघका अध्यक्ष रहिसकेका छन् । उद्योग वाणिज्य संघ र पेट्रोलियम डिलर्स एसोसिएसनका सदस्यदेखि राम युवा कमिटीका निर्देशकसम्मको पद सम्हालिसकेका उनी २०७० देखि राजनीतिमा आएका हुन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) बाट उम्मेदवार बनेर हारेका चौधरी त्यसपछि राजपा हुँदै अहिले लोसपामा छन् ।

राजनीतिशास्त्रमा स्नातक उनी पहिलो पटक मेयर पदका प्रतिस्पर्धी बनेका हुन् । उनले मेयर हुने तयारी एक वर्षअघि नै थालेका थिए । ‘म जुन रूपले भए पनि जनकपुरवासीकै बीचमा छु,’ चौधरी भन्छन्, ‘झुट नबोल्ने, कसैलाई कुनै किसिमको दुःख नदिने र सहयोग गर्ने भएकोले यहाँका जनताले मेयरमा मलाई नै जिताउँछन् ।’

जनताकै सम्पर्क र सल्लाहमा आफू उम्मेदवार बनेको उनी बताउँछन् । कसैलाई परेको समस्यादेखि बिहेबारीसम्मका काममा १५ वर्षदेखि जनकपुरवासीको सहयोगी बनेर काम गर्दै आएकोले मेयरमा आफ्नो जित हुने उनको दाबी छ ।

आफू जिते सबभन्दा पहिला फोहोर तह लगाउन ल्याण्डफिल साइटको व्यवस्था गर्ने उनले बताए । जनकपुरधामलाई हरियालीपूर्ण बनाउने, शिक्षा र स्वास्थ्यको स्तर उकास्ने, युवालाई खेलकुदमा अभिप्रेरित गर्ने, उद्योग र पर्यटन विस्तार गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लगायत प्रतिबद्धता उनले घोषणापत्रमा गरेका छन् ।

‘काम गर्न सक्ने जति मात्र बोल्छु । विगतमा पनि बोलेको जति गरेको छु,’ चौधरी भन्छन्, ‘त्यही भएर यहाँ हिजो पनि निर्वाचन चिह्न साइकलले जितेको थियो, यसपटक पनि साइकल छापले जित्छ ।’ – अनलाइन खबर

प्रकाशित : २०७९ बैशाख २६, सोमबार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ