एसियाली खेलकुदको तयारीमा रहेकी स्वर्ण पदक विजेता चौधरी मृत फेला


काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन् ।

केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।

‘हामीलाई बिहान साढे ५ बजे खबर आयो, घटनास्थलमा पुगेर हेर्दा मृत अवस्थामा हामीले फेला पायौँ,’ महालक्ष्मी प्रहरी चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले जानकारी दिए ।

प्रहरीका अनुसार सञ्जु सुतेको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बाँकेको राप्ती सोनारी गाँउपालिका स्थायी घर भएकी २३ वर्षीया सञ्जुले काठमाडौंमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन उनी काठमाडौं आएकी थिइन् । एसियाली खेलकुदमा छनोट भएसँगै उनी काठमाडौंमै बस्दै आएकी थिइन् ।

प्रकाशित : २०७९ बैशाख २७, मंगलवार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ