लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन (सोमबार) आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक धेरैजसो तयारी पूरा भएको जनाएको छ ।
कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईका अनुसार शनिबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गर्दै कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसित छलफल गरेका थिए ।
भट्टराईले केही दिनअघि नै भारतबाट पनि उच्च सुरक्षा अधिकृत आइसकेको बताए । भौतिक संरचना निर्माण र सजावटका अलावा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिंगार्ने काम पूरा भइसकेको छ ।
उनले आइतबारबाट भीआइपीहरू आउने क्रम सुरु हुने बताए । आइतबार बिहान पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आले र परराष्ट्रमन्त्री आउने कार्यक्रम रहेको बताउँदै उनले भने, ‘कूटनीतिक निकाय र नेपाल सरकारका उच्च अधिकारी पनि आउनु हुनेछ ।’
कोषले अतिथि व्यवस्थापनका लागि आवास, यातायात, प्रचारप्रसार, सुरक्षा, पूजापाठ र शान्ती र्याली समिति बनाएर काम गरिरहेको छ । बुद्धस्थलको प्रवर्द्धन गर्न कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह समेटेर एउटा समन्वय समिति निर्माण गरिएको छ ।
काठमाडौंबाट आइतबार १ हजार १ सय भिक्षुरभिक्षुणी पनि लुम्बिनी आइपुग्नेछन् । भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एमआई १७ हेलिकोप्टरले हालै निर्माण गरिएका दुई हेलिप्याडमा शनिबार परीक्षण उडान गरेका छन् ।
मोदी आउने भएपछि विकास कोषले दुई नम्बर गेटअगाडि चारवटा पक्की हेलिप्याड बनाएको छ । त्यसपछि भारतीय सुरक्षा अधिकारीले हेलिप्याड अवलोकन र सुरक्षात्मक अवस्था जाँचबुझ गर्दै प्राविधिक जानकारीसमेत लिएका थिए ।
‘भारतीय सुरक्षा अधिकारीले हेलिकप्टरबाटै सुरक्षा अवस्था अवलोकन गरे,’ कोषका एक अधिकारीले भने, ‘तर यसबारे उनीहरूले थप बताउन चाहेनन् ।’ सरकारी अधिकारीले मोदीसँग चारवटा हेलिकोप्टर आउने बताएका छन् ।
मोदीको स्वागतका लागि लुम्बिनीलाई सिंगारिएको छ । मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्त्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ ।
बाटोघाटो सफा गरेर सुन्दर बनाइएको छ । मन्दिरलाई झिलीमिली बत्तीले ढाकिएको छ । पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । लुम्बिनी गुरुयोजनाको भैरहवा तौलिहवा सडक खण्डअन्तर्गत एक किमि कालोपत्रे बाटाका दुईतर्फ नेपाल, भारत र बौद्ध धर्मावलम्बनीको झन्डा टाँगिएको छ ।
त्यस्तै पर्सा चोकदेखि महिलबारसम्म पनि पोलमा नेपाल, भारत र बौद्ध धर्मावलम्बीको झन्डा टाँगिएको छ । मोदी र देउवाका लागि अन्तर्राष्ट्रिय सभा हलअघि कालोपत्रे बाटो र ९ नम्बर गेटअघि ठूला स्वागत द्वार बनाइएको छ ।
९ नम्बर गेट हुँदै भारतले बनाउन लागेको बिहारसम्म मोदी पुग्ने बाटो पनि बनाइएको छ । कालोपत्रे नभए पनि राम्रो बेस बनाएर बाटो चिटिक्क बनाइएको छ ।