बर्दिबास : देउवाले टिकट खोसे, जनताले मेयर बनाए


महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा प्रहलादकुमार क्षेत्री विजयी भएका छन् ।

प्रहलाद त्यही व्यक्ति हुन जसको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले खोसेका थिए । त्यो पनि मनोनयन दर्ता गर्ने दिन ।

मनोनयन दर्ता गर्ने दिन १२ वैशाखमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुई जना मेयरको मनोनयन दर्ता गर्न पुगेका थिए ।

जसमा एक जना क्षेत्री थिए भने अर्का चिरञ्जीवी हमाल । तरपछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले पत्र पठाउँदै हमाल आधिकारिक उम्मेद‍वार भएको पत्र पठाए ।

आयोगले हमाललाई नै कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गर्‍यो । टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिए ।

उनले आफूले मात्र उम्मेदवारी दिएनन् स्वतन्त्रको प्यानल नै बनाए । उपमेयरमा तारादेवी खत्री स्वतन्त्रबाट उम्मेदवार बनिन् ।

१४ हजार २१० मत ल्याएका क्षेत्री आफूले मात्र जितेनन्, उमपेयरमा खत्रीले पनि जितिन् । उनले ९ हजार ७३६ मत ल्याइन् ।

खत्रीकै प्यानलबाट वडा नम्बर १ मा भोला खड्का, ७ मा रामस्वगारथ यादव १३ मा लक्ष्मण सिंह र १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित भए ।

क्षेत्रीले स्वतन्त्रबाट चुनाव जित्दा कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमाल १२६३ मतसहित चौथो स्थानमा रहे ।

उपमेयरमा पनि कांग्रेसकी आधिकारिक उम्मेदवार अमिनकुमारी महतो १७५८ मतसहित चौथौ नै भइन् । प्रमुख र उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्र दोश्रो र नेकपा एमाले तेश्रो भयो ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार २०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ