२२ हजार बढी मत ल्याएर वीरगञ्जको मेयर बने राजेशमान, उपमेयरमा इम्तियाज


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । ३२ वटै वडाका मतगणना सकिंदा राजेशमानले ४६ हजार २१५ मत पाउँदा विजयले २३ हजार ६७१ मतमात्रै पाए ।

वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता रहेकोमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो । अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए ।

तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो भइका थिए । यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका थिए ।

राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका हुन् । राजेशमान एमालेमा जाने लगभग निश्चित भइसकेको थियो तर एमालले विजयलाई पार्टी प्रवेश गराएपछि उनी जसपामा गए ।

विजय कांग्रेसमा जान चाहेपनि वास्था नभएपछि एमालेमा गएर मेयर लडेका हुन् । उपमेयरको अन्तिम मत भने सार्वजनिक गरिएको छैन । वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।

वडा नं १ मा जसपाका मनोज राउत कुर्मी, २ मा कांग्रेसका रियाज मिया तेली, ३ मा जसपाका बैजुलाल स्वर्णकार, ४ मा कांग्रेस जगत साह कानु, ५ मा एमाले प्रदीप चौरसिया, ६ मा लोसपामा जयप्रकाश अग्रवाल, ७ मा कांग्रेसका हिराकाजी महर्जन, ८ मा कांग्रेसकै रितेश गुप्ता, ९ मा जवहारप्रसाद गुप्ता र १० मा जसपाका सुशीलकुमार गुप्ता विजयी भए ।

यस्तै, ११ मा जसपाका अजय चौरसिया, १२ मा एमालेका सुरेश गुप्ता कानु, १३ मा एमालेकै हारा गिरी, १४ मा जसपाका महबुब एलाही, १५ मा जसपाकै रमेश यादव, १६ मा परशुराम चौरसिया, १७ मा एमालेका सञ्जिव क्षेत्री, १८ मा जसपाका उमाशंकर तिवारी, १९ मा कांग्रेसका मुकेशकुमार चौरसिया विजयी भए ।

वडानम्बर २० मा एमाले राम किशोर सिंह, २१ लोसपाका राधाकृष्ण रौनियार, २२ कांग्रेसका द्वारिका महतो, २३ एमालेको अवध किशोर कुशवाहा, २४ मा एमालेकै विजयप्रसाद कुर्मी, २५ मा जसपाका आशुतोष चतुर्वेदी, २६ मा कांग्रेसका शम्भुप्रसाद गुप्ता, २७ मा कांग्रेकै हृदय नारायण पटेल, २८ मा सर्युग महतो, २९ मा जसपाका धर्मेन्द्र महतो, ३० मा जसपाकै मनोजकुमार यादव, ३१ मा एमालेका जितेन्द्र यादव र ३२ मा जसपाका रियाज मिँया ठकुराई विजयी भएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ