नागरिक बचतपत्र खुल्यो, ११ प्रतिशत ब्याज पाइने


काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रमा बिहीबारदेखि आवेदन खुला गरेको छ । कुल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्रमा नेपाली नागरिकले लगानी गर्न सक्छन् ।

५ वर्षे अवधिको यो नागरिक बचतपत्रमा लगानी गरेवापत वार्षिक ११ प्रतिशत ब्याज पाइन्छ । जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० हजार रुपैयाँ र सो रकमले नि:शेष भाग जाने रकममा आवेदन दिन सकिन्छ ।

६–६ महिनामा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका प्रादेशिक कार्यालयमार्फत ब्याज लिन सकिन्छ । आगामी असार ८ गते यसको निस्कासन मिति तोकिएको छ भने २०८४ असार ८ गते साँवा रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो नागरिक बचतपत्रमा लगानी गर्नेलाई बीचमै पैसा आवश्यक परेमा बैंक तथा वित्तीय संस्थामा यहीं पत्र धितो राखेर ऋण लिन सकिन्छ ।

राष्ट्र बैंकको वेबसाइटमार्फत मोनीटरी म्यानेजमेन्टमा गई अनलाइन प्रणालीबाट बचतपत्रमा आवेदन दिन सकिन्छ । आवेदन दिँदा नागरिकताको प्रतिलिपी समावेश गर्नुपर्नेछ ।

प्रकाशित : २०७९ जेष्ठ १३, शुक्रबार ०७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ