एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छ : कृषिमन्त्री यादव


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकाले नेपाल एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटले कृषि, उत्पादन र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताए । ‘यो बजेटले नेपाली जनताको कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान हुनेछ । हामी अबको एक वर्षभित्रमा कमसेकम कृषिमा आत्मनिर्भर हुनसक्छौँ,’ उनले भने ।

मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको उल्लेख गर्दै कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको प्रमुख चुनौति भएको बताए । बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेको भन्दै उनले मन्त्रालय कृषि नीति पास गराउन लागिपरेको बताए ।

‘यसपालिको बजेटमा जुन नीति कार्यक्रममा आएको छ, त्यो विगतको भन्दा धेरै परिवर्तनको रुपमा कृषि क्षेत्रमा आएको छ । तर, त्यसलाई हामीले कसरी कार्यान्वयन गर्ने भन्ने मूल समस्या हो । बजेटमा कति निर्धारण हुन्छ त्यसकै आधारमा हामीले कृषि क्षेत्रको विकासलाई कार्यक्रममा अघि बढाउने हो,’ उनले भने ।

प्रकाशित : २०७९ जेष्ठ १४, शनिबार १४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ