अहिलेसम्म किन फेला परेन सम्पर्क विहिन तारा एयरको विमान, यस्तो छ रहस्य


काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान घण्टौंपछि पनि फेला पर्न सकेको छैन । सो विमान मुस्ताङकै थासाङ गाउँपालिका आसपास सम्पर्क विहिन भएको बताइएको छ ।

थासाङ ५ का वडा अध्यक्ष रुपेश तुलाचनले विमान आएको आवाज आफूहरुले सुनेको तर केहीबेर मै सो विमान हराएको खबर पाएको बताए । उनले भने, ‘बिहान हवाईजहाज आएको आवाज सुनेको हो । मैले बुढीसँग कुरा पनि गरेँ– यस्तो मौसममा पनि प्लेन आए छ है भनेर । पछि त हरायो भनेर खबर आयो ।’

प्रहरीसँग समन्वय गर्दा हाम्रै ठाउँ (लेते, कुञ्जो) तिर सो विमान हरायो भनेर हल्ला आए पनि अहिलेसम्म कहाँ हो, के भयो भन्नेबारे टुंगो नलागेको उनले बताए । ‘वारीपारीको ठाउँमा बस्ने गोठालाहरूसँग फोन गरेर सोध्दा पनि त्यस्तो केही थाहा नभएको भन्छन्,’ उनले सुनाए ।

उनले थपे, ‘अहिले अत्यन्तै बाक्लो कुहिरो लागेको छ, प्रतिकुल मौसमका कारण केही मिटर टाढासम्म पनि देख्न सकिने अवस्था छैन । बाक्लो कुहिरोकै कारण विमान खोज्न गाह्रो छ ।’

यस्तो अवस्थामा कसरी विमान आयो भनेर आफूहरु चकित भएको भन्दै उनले खोजी कार्य गर्नका लागि पनि अहिले मौसम प्रतिकुल रहेको उनको भनाई छ ।

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ