बेपत्ता विमानमा धनुषाको एकै परिवारका ७ जना रहेको पुष्टि, शोकमा आफन्त र गाउँले


जनकपुरधाम । बेपत्ता तारा एयरको विमानमा धनुषा जिल्लाका एकै परिवारका सातजना रहेको पुष्टि भएको छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नं. ११ तुल्सी पाटोका एकै परिवारका सातजना रहेको खुलेको हो। उनीहरु तीर्थ यात्राका लागि गएका थिए ।

स्थानीय राजन कुमार गोलेका परिवार र आफन्तसहित ७ जना छन् । गोले नेकपा एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य हुन् ।

विमानमा गाेलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ थिए ।

उनीहरु मुक्तिनाथ दर्शनका लागि हिँडेका थिए। शुक्रबार घरबाट मुक्तिनाथ दर्शनका लागि हिँडेका उनीहरु शनिबार पोखरा पुगेका थिए । आज बिहानै तारा एयरको विमानबाट मुक्तिनाथ दर्शनका लागि हिँडेको परिवारजनले जनाएको छ ।

उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए । एकै परिवारका सात जना सवार विमान बेपत्ता भएको खबरले परिवारसहित गाउँले शोकमा डुबेका छन् ।
– शैलेन्द्र महतो, नेपाल खबर

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार २२:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ