मेयर बालेन साहको घोषणा : फोहोर व्यवस्थापन नभएसम्म उत्सव नमनाउने


काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर) बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुसीयाली नमनाउने बताएका छन् ।

सोमबार महानगरपालिका प्रमुख पदको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। मेयर साहले काठमाडौंबासीले गरेको पापको भोगी सिसडोलबासीले भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुसीयाली नमनाउने घोषणा गरे।

मेयर साहले भन्नुभयो, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तरवार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ। हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ। विभिन्न रोगबाट ग्रसित हुनुभएको छ ।’ उनले शपथ ग्रहण र पदभार ग्रहण गर्ने कार्यक्रममा पनि माला र खादा लगाएनन् ।

त्यस्तै काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र सहज जीवनयापनको लागि काम गर्ने प्रतिवद्धता जनाइन् । उनले व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने बताए ।

उनले आफूले प्रतिवद्धता जनाएका कुरालाई बजेटमा समावेश गरेर सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौंलाई विकास गर्न लागि पर्ने बताइन् ।काठमाडौं नगर कार्यपालिकाको बैठक आजै ४ बजे बस्ने र त्यसको प्रत्यक्ष प्रशारण हुने भएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार १६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ